काठमाडाै, १६ भदाै २०८० ।
आजदेखि हवाई भाडा बढेकाे छ । हवाई टिकटमा सरकारले लगाएको भ्याट आजदेखि पुन: कार्यान्वयनमा आएसंगै हवाई भाडा बढेकाे हाे ।
सर्वोच्च अदालतको एकल इजलासले साउन १४ गते जारी गरेको अन्तरकालीन अन्तरिम आदेशले निरन्तरता नपाएसँगै सरकारलाई भ्याट लगाउने निर्णय कार्यान्वयनको बाटो खुलेको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले आजैदेखि भ्याट लागू भएकाले हवाई भाडा बढेकाे जानकारी दिनुभयो ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् आन्तरिक तथा बाह्य दुवै खालका हवाई टिकटमा १३ प्रतिशत भ्याट लगाएपछि नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्सले सर्वोच्चमा रिट दर्ता गराएको थियो । एकल इजलासमा न्यायाधीश अनिलकुमार सिन्हाले जारी गरेको अल्पकालीन आदेश हिजो न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासले खारेज गरेको हो । एकपक्षीय अन्तरकालीन आदेश बदरको माग गर्दै अन्तरिक राजस्व विभागले पनि साउन २८ गते सर्वोच्चमा निवेदन दर्ता गरेको थियो ।