सुजन प्रेमी सुवेदी
बागलुङ, १४ पुस २०८० ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड सर्कुवाको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बागलुङको जैमिनी नगरपालिका ४ सर्कुवामा अवस्थित सहकारीको शनिबार ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सहकारीको प्राङ्गणमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष प्रभाकर पौडेलले संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै साना किसान मार्फत शेयर सदस्य किसानहरुलाई हाते ट्याक्टर, कम्बाइन मिल, प्लास्टिक पोखरी लगाएतका सामग्रीहरु वितरण गरिएको जानकारी दिनुभयो । १३ क्विन्टल अदुवा र बेसार कृषकहरुलाई वितरण गरेको जानकारी दिँदै उहाँले १ सय १७ जना कृषकहरुको १ सय २२ वटा भैँसीको बिमा गरी कृषकहरुलाई लाभ दिइएको बताउनुभयो । सहकारीले अहिले ४० रोपनी जग्गामा ३२ क्विन्टल आलु लगाएको उहाँको भनाई छ ।
यस्तै संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक होमनाथ पौडेलले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्दै कुल ५ सय १६ जना शेयर सदस्यहरुको ४५ लाख २७ हजार रुपैयाँ शेयर रकम भएको जानकारी दिनुभयो । संस्थाले जगेडा कोषमा शेयर रकम भन्दा बढि रकम राखेकाले संस्था जोखिममा नभएको उल्लेख गर्दै उहाँले ३ करोड २८ लाख भन्दा बढि रकम लगानीमा रहेको बताउनुभयो ।
कार्यक्रममा सहकारीको अवस्था बारे जानकारी दिँदै प्रवन्धक शुसिला देवी शर्माले आगामी बर्षमा संस्थाको आय व्यव विवरण ११ करोड ५३ लाख भन्दा बढि पुर्याउने लक्ष्य रहेको जानकारी दिनुभयो । संस्थाले उत्पादनमा आधारित कृषकहरुलाई प्रोत्साहन गर्न पुरस्कृत गर्ने गरेको भन्दै उहाँले जनता मा.वि बाट एसइइमा उत्कृष्ठ अंक ल्याउने शेयर सदस्यका छारा र छोरीलाई नगद सहित सम्मान गर्ने कार्यक्रम समेत निरन्तर रहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि जैमिनी नगरपालिका वडा नं ४ का वडाध्यक्ष चक्र बहादुर थापाले सहकारी मार्फत उत्पादन गर्दा कृषकहरुलाई उत्पादन र बजारिकरणमा सहयोग हुने हुँदा यतातिर कृषकहरुलाई आकर्षित गर्न विभिन्न कार्यक्रम ल्याउने बताउनुभयो । नगरपालिकाबाट आउने कार्यक्रम सहकारी मार्फत जनतासम्म पुर्याउँदै आएको भन्दै उहाँले सहकारी र राज्य मिलेर कृषकहरुको उत्थानमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका अतिथिहरुलाई सहकारीका सदस्यहरुले उत्पान गरेको बेसार र कोदोको पिठो मायाको चिनो स्वरुप दिइएको थियो । मायाको चिनोमा कृषकहरुको प्रोत्साहन र स्थानीय उत्पादनको प्राथमिकता राखेकोमा सहकारीको प्रशंसा गरिएको छ । मायाको चिनोको नाममा प्रयोगहिन वस्तु दिँदा अनावश्यक खर्च पनि हुने र उपयोगमा पनि नआउने हुँदा स्थानीय स्तरमा नै उत्पादन भएका वस्तुलाई कोसेली स्वरुप दिइएको अध्यक्ष प्रभाकर पौडेलले बताउनुभयो ।
साधारण सभामा शेयर सदस्य कृषक होमनाथ पौडेलले ५ किलोको काउली र साँढे ३ किलोको बन्दा प्रदर्शनमा राख्नुभएको थियो । यस्तै अर्का किसान सिता बोहोरा नेपालीले ७ किलोको ब्रोइलर कुखुरा उत्पादन गरी प्रदर्शनीमा ल्याउनुभएको थियो । साधारणसभाको अवसरमा संस्थाका उत्कृष्ठ शेयर सदस्य, उत्कृष्ठ बाल बचतकर्ता, असल ऋणी लगाएतलाई सम्मान गरिएको छ ।
कार्यक्रममा जनता माध्यामिक विद्यमलय सर्कुवाका प्रधानाध्यापक चन्द्रकान्त आचार्य, संस्थाका सल्लाहकार मेघराज ढकाल, शेयर सदस्य लगाएतका वक्ताहरुले सहकारीले स्थानीय उत्पादन र बजारिकरणलाई नै बढि प्राथमिकता दिनुपर्ने बताएका थिए । साधारण सभामा अध्यक्ष, प्रवन्धक र लेखा समितिको प्रतिवेदन सुझाव सहित पारित भएको छ ।
यस्तै साना किसान कृषि सहकारी संस्था लिमिटेड राङ्खानीको पनि ११ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले संस्थाको तर्फबाट पेश गरेका प्रतिवेदन सुझाव सहित पारित गरेको छ ।