काठमाण्डाै, ८ असार २०८१ ।
अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षको बजेट कार्यान्वयनको योजना बनाउन शुरु गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज मन्त्रालयका दुवै जना सचिव, महाशाखा प्रमुख तथा भन्सार र राजस्व प्रशासनका उच्च अधिकृतहरूको बैठक बोलाएर कार्ययोजनाबारे प्रारम्भिक छलफल गर्नुभएको हो ।
अर्थमन्त्रीले कार्यान्यवन हुनसक्ने गरी योजना तयार पार्न निर्देशन दिनुभयो । पहिलो, दोस्रो र तेस्रो त्रैमासिक योजना बनाएर काम गर्न र दशैँ, तिहारजस्ता ठूला पर्वको बिदा ख्याल गरेर मात्र कार्ययोजना बनाउन निर्देशन दिँदै उहाँले अहिले असारमा गरिरहेको खर्च छ महिनाअघि गर्न सक्नेगरी योजना बनाउनुपर्ने बताउनुभयो ।
मन्त्री पुनले बजेटको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँग मेल खाने खालको भएकाले कार्यान्वयनमा सहज हुने जिकिर गर्नुभयाे । १८ खर्ब ६० अर्ब रुपैयाँको वस्तुवादी बजेट ल्याउन सकिएकामा सन्तोष लागेको उहाँकाे भनाइ थियाे ।