सुजन प्रेमी सुवेदी
काठमाडौ, ६ असार २०८१ ।
साउन महिनामा पशुपतिनाथ मन्दिर क्षेत्रमा राष्ट्रिय भजन प्रतियोगिता हुने भएको छ । मानव सेवा फाउण्डेशनले आयोजना गरेको ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञको अवसरमा भजन प्रतियोगिताको आयोजना गरिएको हो ।
भजन प्रतियोगितामा प्रथम हुने समूहले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, द्वित्तीय हुने समूहले नगद ७५ हजार ५ सय ५५ रुपैयाँ, तृतीय हुने समूहले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ र चौथो तथा शान्तवना हुने समूहले नगद २५ हजार ५ सय २५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ । प्रतियोगितामा भेषभुषा, वाद्य यन्त्र, प्रस्तुतिकरण, अनुशासन र झाँकी विद्यालाई प्राथमिकता दिइने छ ।
भजन प्रतियोगितामा देशभरबाट सहभागी हुन सकिने आयोजकले जनाएको छ । ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ उक्त महायज्ञ आयोजना हुन लागेको आयोजक संस्था मानव सेवा फाउण्डेशनका व्यवस्थापक गिरीले जानकारी दिनुभयो ।
महायज्ञ अवधिभर एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिकमन्त्रसहित अनवरत रुपमा नियमित हवन, पाँच हजार १०० दिव्य कलश पूजन, चार वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रुपमा सञ्चालन हुने आयोजकले जनाएको छ । महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवीप्रतिभा लगायतले कथावाचन गर्ने छन् ।
प्रतियोगितामा सहभागी हुन चाहने समूहले फाउण्डेशनको सम्पर्क नम्बर ९८५१३५७०१३/९८०२३७००८१ वा राष्ट्रिय भजन प्रतियोगिताका संयोजक लोक तथा दोहोरी गायिका राधिका हमाल वा ९८५१२४४८४७/ ९८४१३४२३४८ मा सम्पर्क गर्न सकिने छ ।