सुजन प्रेमी सुवेदी
काठमाडौ, १० असार २०८१ ।
मानव सेवा फाउण्डेशनले २१ हजार ज्येष्ठ नागरिकलाई सम्मान गर्ने भएको छ । साउन १ गते देखि पशुपति मन्दिर क्षेत्रको वनकालीमा आयोजना हुने ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञको अवसरमा २१ हजार ज्येष्ठ नागरिकलाई सम्मान गर्न लागिएको हो ।
हिजोका कणधार र आजका ज्युँदा इतिहास बनेका ज्येष्ठ नागरिकहरुबाट धेरै कुरा सिक्न सकिने र उनीहरुको अनुभवले अगाडि बढ्न मद्दत हुने भएकाले सम्मान गर्न लागिएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ । महायज्ञको समयमा विविध कार्यक्रमहरु सहित जेष्ठ नागरिकहरुलाई पनि सम्मान गर्ने कार्यक्रम तय भएको छ ।
फाउण्डेशनले छोरीको घर ज्येष्ठ नागरिक आश्रम र मामाघर अनाथालय आश्रम सञ्चालन गरिरहेको छ । ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ उक्त महायज्ञ आयोजना हुन लागेको आयोजकले जनाएको छ ।
मामाघर आश्रममा देशका विभिन्न स्थानका करिब ८३ जना अभिभावक विहीन बालबालिकाले निःशुल्क रुपमा गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा प्राप्त गर्दै आएका छन् । त्यस्तै छोरीको घर ज्येष्ठ नागरिक आश्रममा पनि दर्जनबढी बेसहारा आमावुवाले आश्रय प्राप्त गर्दै आएका छन् । साउन १ देखि ३२ गतेसम्म पशुपति क्षेत्रको हंसमण्डपमा सञ्चालन हुने महायज्ञमा देश तथा विदेशबाट भक्तजनहरुको उपस्थिति रहने छ ।
याे पनि पढ्नुहाेस् ।