सुजन प्रेमी सुवेदी
ललितपुर, २३ मंसिर २०८१ ।
गोदावरी नगरपालिका ३ ललितपुरका वडाध्यक्ष राज घिमिरेले मामाघर आश्रममा आर्थिक सहयोग गर्नुभएको छ । मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर नेपाल (मामाघर अनाथालय आश्रम)ले आयोजना गरेको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक कार्यक्रमको अवसरमा घिमिरेले ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका घिमिरेले मामाघर आश्रमले देशमा नै नमूना कार्य गरेको भन्दै प्रशंसा समेत गर्नुभयो । उहाँले आश्रमको जग्गा आफ्नै वडामा व्यवस्थापन भैसकेको र अब छिटै शिलान्यास हुने भएकाले यो पनि गौरवको कुरा भएको उल्लेख गर्नुभयो । मामाघर अनाथालय आश्रमले धेरैलाई सहारा दिएकाले यसका सकारात्मक पाटोहरुलाई हेर्नुपर्नेमा जोड दिनुभयो । मामाघर आश्रमको भवन बन्न लागेकाले यसको भवन निर्माणमा आफ्नो तर्फबाट सबैले सहयोग गर्न आग्रह गर्दै उहाँले आफ्ना बालबालिका हुर्काउन समस्या पर्न थालेको यो परिस्थितिमा विभिन्न जिल्ला र समुदायका बालबालिकाको जिम्मा लिएर कार्य गर्नु चानचुने नभएको बताउनुभयो ।
वडाध्यक्ष घिमिरेले यसअघि पनि विभिन्न तवरबाट सहयोग गर्दै आइरहेको मामाघर अनाथालय आश्रमले जनाएको छ । संस्थाका संस्थापक तथा संरक्षक वाल योगेश्वर विजय कृष्ण मूर्ति जी महाराजले संस्थाको सामाजिक लेखा परिक्षण प्रतिवेदन र आर्थिक बर्ष २०८०–८१ को आयव्यव विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रस्तुत गर्नुभएका प्रतिवेदन सर्वसम्मत रुपले पारित भएको छ । हाल ८३ जना वालवालिका रहेको आश्रममा विभिन्न जिल्लाबाट अभिभावक विहिन अनाथ वालवालिकाहरु ल्याएर निःशुल्क गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य लगायतको व्यवस्था सहित आश्रय दिइएको छ । वालवालिकाहरुलाई नृत्य, संगीत, खेलकुद, लगायत अतिरिक्त क्रियाकलापहरुको समेत व्यवस्था गरिएको छ । संस्थाले वालक र वालिकाहरुलाई छुट्टाछुट्टै भवनमा राखेको छ । कार्यक्रममा गोदावरी नगरपालिकाका बाल कल्याण अधिकारी प्रेम कुमारी राईले मामाघर आश्रम विधि, विधान र कानूनी तवरबाट सञ्चालन भएको र नगरपालिकाबाट समय समयमा अनुगमन र सुझाव दिइरहेको बताउनुभयो ।