सुजन प्रेमी
बागलुङ, ५ चैत २०७९ ।
बागलुङको कुश्मिसेरामा सञ्चालित जैमिनी मेला २०७९ को आयव्यय सार्वजनिक भएको छ । शनिबार आयोजक सहारा क्लव कुश्मिसेराले गत पुस २९ गतेदेखि माघ ५ गतेसम्म सञ्चालित मेलाको आयव्यव सार्वजनिक गरेको हो ।
जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुन, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी, वडा नं ३ का वडाध्यक्ष कृष्ण भुजेल सहितको उपस्थितिमा सार्वजनिक गरिएको विवरण अनुसार झण्डै २५ लाख रुपैयाँको कारोबार देखिएको छ । कोषाध्यक्ष ओमकार थापाले आयव्यव विवरण सार्वजनिक गर्दै २५ लाख ३५ हजार ४ सय ४९ रुपैयाँ आम्दानी भएको र २४ लाख ७ हजार ४ सय ५८ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । आयव्यव विवरण अनुसार १ लाख २७ हजार ९ सय ९१ रुपैयाँ वचत रकम देखिएको छ ।
मेला सफल पार्नको लागि जैमिनी नगरपालिकाले १० लाख रुपैयाँ अनुदान दिएको थियो भने विभिन्न प्रयोजक र चन्दादाताबाट १२ लाख ५३ हजार ९ सय ५६ रुपैयाँ आम्दानी भएको छ । यस्तै क्लवले १ लाख ९ हजार रुपैयाँ विभिन्न प्रतियोगिताको टिम दर्ता शुल्कबाट आम्दानी गरेको देखिएको छ भने नगरपालिकाबाट बाटो अनुदान मार्फत १ लाख ७२ हजार ४ सय ९३ रुपैयाँ आम्दानी भएको देखिएको छ ।
यस्तै क्लवले सबैभन्दा धेरै ५ लाख ५ हजार ४ सय ४३ रुपैयाँ नगद पुरस्कारको लागि खर्च गरेको छ । आयोजक तथा स्वयं सेवकका लागि खाना खाजा व्यवस्थापनको लागि ३ लाख ८० हजार ८ सय ३५ रुपैयाँ, खेलकुद सामग्री तथा जिन्सी पुरस्कारको लागि २ लाख ६३ हजार रुपैयाँ, यातयात तथा प्रचारप्रसारका लागि ७८ हजार र विज्ञापनका लागि ४० हजार खर्च भएको कोषाध्यक्ष ओमकार थापाले जानकारी दिनुभयो ।
मेला सफल पार्न चन्दा सहयोग गर्ने आश्वासन दिएका तथा प्रायोजकहरुबाट ५ लाख ३० हजार ९ सय ८८ रुपैयाँ उठ्न बाँकी देखिएको छ । यस्तै क्लवले ४ लाख २ हजार ९ सय ९७ रुपैयाँ तिर्न बाँकी रहेको छ ।
आयव्यय सार्वजनिक भएपछि सुझाव तथा जिज्ञासा राख्दै जैमिनी नगरपालिका वडा नं ३ का वडाध्यक्ष कृष्ण भुजेलले क्लवले गर्ने सबै गतिविधिहरुलाई वडा तहसम्म पुराउनुपर्ने बताउनुभयो । मेला महोत्सव र खेलकुद मात्रै नभई यस्ता क्लवहरुले सामाजिक उत्तरदायित्व हुने खालका कामहरु गर्न उहाँको सुझाव छ ।
आयव्यय सार्वजनिक पछि बोल्दै जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले उत्पादनलाई पर्यटनसंग जोडेर जैमिनी नगरपालिकाले योजना बनाइरहेकाले मेला महोत्सवले पनि ठुलो मद्दत पुराउने बताउनुभयो । सहारा क्लवले मेलाको व्यवस्थापन गरेपनि यो सफल पार्ने दायित्व सबै जैमिनीबासीको भएकाले यसलाई सोहि रुपमा सहयोग गर्न उहाँको आग्रह छ ।
यस्तै जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले मेला महोत्सवलाई स्थानीय बजारले साथ नदिएसम्म सफल हुन नसक्ने भन्दै बजारबासी व्यवसायीहरुले पनि आफ्नो वस्तु तथा सेवा मेलाबाट प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा क्लवका अध्यक्ष सुरेश सुनारले मेला सफल पार्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि रचनात्मक सुझावका सहित साथ र सहयोग रहनेमा आशावादी रहेको बताउनुभयो । उठेका जिज्ञासाहरुको जवाफ दिँदै उहाँले क्लवले दिर्घ रोगीहरुलाई आर्थिक सहायता गर्ने देखि चौतारीमा रेलिङ हाल्ने, खेल मैदान बनाउने लगाएत सचेतनामूलक कार्यक्रमहरुमा पनि सहभागिता जनाएको बताउनुभयो ।
जैमिनी नगरपालिकाको केन्द कुश्मिसेरा बजारमा हरेक बर्ष माघेसक्रान्तिको अवसर पारेर मेला सञ्चालन हुँदै आएको छ । २०७० सालदेखि यो मेलालाई व्यवस्थापन गर्दै आइरहेको सहारा क्लवले २ पटक जैमिनी महोत्सव सञ्चालन गरिसकेको छ ।