काठमाडाै, ३ चैत २०७८ ।
पेट्रोलियम पदार्थको मूल्य फेरि बढेकाे छ । नेपाल आयल निगमले आजदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हाे ।
धवार बेलुकी बसेको निगम सञ्चालक समितिको बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरेको नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिनुभयो। मूल्य वृद्धिसँगै काठमाण्डौ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ५५, डिजल/मट्टीतेलको मूल्य प्रतिलिटर एक सय ३८ रूपैयाँ पुगेकाे छ ।
यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १५ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर दुई सय अमेरिकी डलर वृद्धि भएको निगमले जनाएको छ । मूल्य बढेपछि हवाई इन्धन आन्तरिक को मूल्य प्रतिलिटर एक सय ५१ र हवाई इन्धन अन्तर्राष्ट्रिय को मूल्य प्रतिलिटर अमेरिकी डलर १ दशमलव ४९५ पुगेको छ ।
मूल्य वृद्धि गर्दा पनि आउँदो १५ दिनमा झन्डै चार अर्ब ६६ करोड रुपैयाँ नोक्सानी हुने निगमले जनाएको छ । सञ्चित बचत सकिएको र घाटा उच्च भएकाले इन्डियन आयल कर्पोरेशन आईओसी लाई भुक्तानी गर्न रकमको अभाव भएको निगमले जनाएको छ । आईओसीलाई भुक्तानी गर्न नपुग रकम मूल्य स्थिरीकरण कोष तथा अन्य वित्तीय संस्थाबाट ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको निगमको भनाइ छ ।
यसअघि इन्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको थियाे । आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर १६९ रुपैयाँ ४४ पैसा, मट्टितेल प्रतिलिटर ११३ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १३१ रुपैयाँ ९४ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर ११४ रुपैयाँ ५१ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर दुई हजार २४० रुपैयाँ ३४ पैसा पुगेको निगमले जनाएको छ।