काठमाडाै, २० फागनु २०७८ ।
नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । विहीबार राती १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मटितेलमा समान ५–५ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको कच्चा तेलको मूल्यलाई कारण देखाउँदै बृद्धि गरेकाे मूल्य अनुसार पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १ सय ५०, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ३३ रुपैयाँ पुगेको निगमले एक विज्ञप्ति जारी गरेर जानकारी गराएकाे छ । निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको भने खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखेको छ ।
निगमले यसपटक मूल्यवृद्धि गर्दा विद्यार्थी संगठन, उपभोक्ता अधिकारकर्मी र नागरिक अगुवालगायतको विरोध हुने देखेर कर्मचारीले पाउँदै आएको लुगा धुने भत्ता खारेज गर्ने निर्णय गरेको छ । निगममा कार्यरत करिब चार सय ७० स्थायी कर्मचारीले प्रतिदिन १५ रुपैयाँका दरले लुगा धुने भत्ता पाउँदै आएका थिए । यो भत्ता खारेज भएको प्रवक्ता विनीतमणि उपाध्यायले बताउनुभयाे । त्यस्तै यसपटक मूल्यवृद्धि गर्दा आयल निगमले पेट्रोलपम्प व्यवसायीले पाउने सुविधा पनि रोकेको छ । गत वर्षदेखि पेट्रोल र डिजेल बिक्री गर्ने पम्पले प्रतिशतका आधारमा कमिसन पाउने व्यवस्था लागू भएको छ । जसकारण पेट्रोल डिजेलको मूल्य बढ्दा व्यवसायीको कमिसन बढ्ने र मूल्य घट्दा व्यवसायीको कमिसन पनि घट्ने गरेको थियो ।
निरन्तर बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्यले आमउपभोक्ता भने महँगीको मारमा पर्दै आएका छन् ।
