बागलुङ, २४ माघ २०७८ ।
बागलुङको बिनामारेमा साबुन बनाउने तालिम आइतबार सम्पन्न भएको छ । जैमिनी नगरपालिकाको आयोजना उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको आर्थिक सहयोग र जैमिनी नगरपालिका वडा नं. ५ बिनामारेको व्यवस्थापनमा साबुन बनाउने सम्बन्धी पाँच दिने तालिम सञ्चालन भएको हो ।
गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत उक्त तालिम सञ्चालन भएको थियो । कार्यक्रममा जैमिनी नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलले सिकेको सीपहरुबाट सफल उद्यमी बन्न सकिने हुँदा सिकेको सीपलाई निरन्तरता दिई स्वरोजगार हुनुपर्नेमा जोड दिनुभयोे । वडा नं. ५ बिनामारेका वडाअध्यक्ष गोपाल प्रसाद शर्माले सीप सिकेर मात्र नहुने हुँदा निरन्तरता दिन स्वरोजगार भई आम्दानीसँग जोडिन सुझाव दिनुभयो ।
उक्त तालिममा १३ जनाको सहभागिता रहेको थियो । तनलिममा सहभागीहरुले ट्वाइलेट क्लिनर, फिनायल, लुगा धुने साबुन, तीतेपाती र घ्युकुमारीका साबुन बनाउन सिकेका थिए ।
यस्तै साबुन बनाउने तालिमको समापनसँगै साेहि ठाउँमा नै आधारभुत सिलाईकटाई र इलेक्ट्रोनिक्स तालिमको समेत उद्घाटन समेत गरिएको छ । उक्त तालिम दुई महिना चल्नेछ । यसअघि बिनामारेमा डल कुशन बनाउने १५ दिने तालिम सम्पन्न भएकाे छ ।
यस्तै जैमिनी नगरपालिकाकाे वडा नं ७ जैदी र ८ छिस्तीमा ढाका बुनाई , सिलाइकटाई र बुटिक तालिम सञ्चालन भएकाे छ । वडा नं ४ सर्कुवामा सिलाइकटाई र वडा नं १० राङ्खानी मा सिलाइकटाई र बुटिक तालिम सञ्चालन भएकाे छ ।