काठमाडौं, २८ असार २०७९ ।
हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ अन्तिम बाँडफाँट मंगलबार हुँदै छ । शुक्रबार प्रि अलाेटमेन्छ गरेकाे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले मंगलबार बिहान साँढे ८ बजे नै आइपीओ बाँडफाँड गर्न लागेकाे हाे ।
कम्पनीले सर्वसाधारणका लागि कुल १९ लाख ६८ हजार २५० कित्ता शेयर वितरण गर्न लागेको जनाइएकाे छ । सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये २ प्रतिशत अर्थात् ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको कम्पनीले जनाएको छ ।
यीबाहेक सार्वजनिक निष्कासनमार्फत विक्री गरेको १८ लाख ३० हजार ४७२ कित्ता शेयरको बाँडफाँट मंगलवार हुने भएको हो । कम्पनीले सर्वसाधारणमा असार १५ गतेदेखि असार १९ गतेसम्मसम्म सार्वजनिक निष्कासनमार्फत आईपीओ बिक्री गरेको थियो ।
यस कम्पनीको आईपीओ खरीदका लागि १० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी १६ लाख २६ हजार ३४० जनाबाट १ करोड ८४ लाख १९ हजार ९८० कित्ता शेयर खरीदको माग भएको हो ।
कम्पनीको आईपीओ १ लाख ८३ हजार ४७ जनाले १० कित्ताका दरले हात पार्नेछन् । यीमध्ये थप दुई जनाले एक–एक कित्ताका दरले शेयर पाउने देखिन्छ । यसरी हेर्दा कम्पनीको आईपीओ बढी पाउनेले ११ कित्तासम्म हात पार्नेछन् ।
कम्पनीको अधिकृत पूँजी रू. १ अर्ब ९८ करोड र जारीपूँजी १ अर्ब ९ करोड ५० लाख रहेको छ । हाल कम्पनीको संस्थापकतर्फ चुक्ता भएको पूँजी ८७ करोड छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि आयोजना प्रभावित स्थानीयमा समेत ९ लाख कित्ता आईपीओ बाँडफाँट गरिसकेको छ ।
सर्वसाधारणतर्फको आईपीओ बाँडफाँटपश्चात् कम्पनीको चुक्तापूँजी १ अर्ब ९ करोड ५० लाख पुग्नेछ । कम्पनीमा संस्थापक शेयरधनीको ७९ दशमलव ४५ प्रतिशत, आयोजना प्रभावित क्षेत्रका वासिन्दाको ८ दशमलव २२ प्रतिशत र कर्मचारीसहित सर्वसाधारण शेयरधनीको १२ दशमलव ३३ प्रतिशत शेयर हिस्सा रहने छ ।
आईपीओबाट प्राप्त भएको रकम कम्पनीबाट निर्माण भएको जलविद्युत आयोजनाको निर्माण सम्पन्न गर्नको लागि बैंकसँग लिएको १५ करोड ऋण र आयोजना निर्माणसँग सम्बन्धित अन्य बाँकी खर्च भुक्तानीमा उपयोग गरिनेछ ।
नतिजाको लागि बाँडफाँड भएको केही समयमा iporesult.cdsc.com.np जान सकिन्छं । आर्थिक संदेशबाट