काठमाडौँ, ३० जेठ २०७९ ।
सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै सातामा ६ दिन नै शेयर कारोबार हुने भएको छ । आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै शुक्रबार पनि आधा दिन शेयर कारोबार हुने भएको हो ।
अब शनिबार बाहेक हप्ताकाे छ दिन नै काराेबार हुनेछ । यसअघि आइतबार देखि बिहिबार सम्म हप्ताकाे ५ दिन काराेबार हुँदै आएकाे थियाे । जेठ १ गतेदेखि लागु भएकाे शनिबार र आइतबार सार्वजनिक बिदा गर्ने सरकारको निर्णयपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रबार शेयर कारोबार खुला गरेर आइतबार बन्द गर्ने निर्णय गरेको थियो । सरकारले आइतबार सार्वजनिक बिदा गरेपछि शुक्रबारको कार्यालय समय बढाएर पूरा दिन बनाइएको थियो ।
असार देखि शनिबार मात्र सार्वजनिक बिदा हुने भएपछि शुक्रबार कार्यालय समय आधा दिन मात्र कायम हुनेछ । यसकारण आइतबारदेखि बिहीबारसम्म चार घण्टा अर्थात बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र शुक्रबार साढे २ घण्टा अर्थात बिहान ११ बजेदेखि दिउँसो १:३० बजेसम्म शेयर कारोबार खोल्ने तयारी भएको नेप्से स्रोतले जनाएको छ ।
सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेर आउँदो असार १ देखि पुरानै अवस्था अर्थात शनिबार मात्र सार्वजनिक बिदा कायम गरेको छ । यो निर्णयसँगै असार पहिलो सातादेखि लागू हुनेगरी आइतबार पनि शेयर कारोबार खुला गर्ने तयारी नेप्सेले गरेको छ। आइतबार शेयर बजार खुला गर्दा हाल भइरहेको शुक्रबारको कारोबारलाई पनि निरन्तरता दिने तयारी भएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले जानकारी दिनुभयाे । अन्तिम निर्णय नभइसकेकाे भएपनि सातामा ६ दिन शेयर कारोबार खुला राख्नका लागि आन्तरिक छलफल र तयारी गरिरहेकाे उहाँकाे भनाइ छ ।