सुजन प्रेमी सुवेदी
काठमाडौ, ९ असार २०८१ ।
साउन महिनामा सु–प्रसिद्ध कथा वाचिका राधिका दासीको मुखराविन्दबाट कथा श्रवण गर्न पाइने भएको छ । पशुपति मन्दिर क्षेत्रको हंशमण्डप वनकालीमा दासीको मुखराविन्दबाट कथा सुन्न पाइने भएको हो ।
मानव सेवा फाउण्डेशनले आयोजना गरेको ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञको अवसरमा वाचिका दासीले संगीतमय शिव पुराण वाचन गर्ने उहाँले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनुभएको छ । साउन १ गतेदेखि ३२ गतेसम्म आयोजना हुने महायज्ञमा साउन १ गतेदेखि ७ गतेसम्म दासीको प्रवचन रहने छ ।
हाल जापानमा रहनुभएकी दासीले सामाजिक सञ्जालबाट भक्तजनहरुलाई आमन्त्रण गर्दै महायज्ञ जस्तो पुणित कार्यमा सहभागी हुन आग्रह गर्नुभएको छ । महायज्ञमा दासी सहित वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, श्री राम कथावाचक चन्द्रकला सखी, श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवीप्रतिभा, श्रीमद् देवि भागवत वाचिका विदुषी डाक्टर कान्ता भट्टराई लगायतले कथावाचन गर्नेछन् ।
पश्पतिनाथ मन्दिर क्षेत्रको हंशमण्डप वनकालीमा आयोजना हुने महायज्ञ अवधिभर एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिक मन्त्रसहित अनवरत रुपमा नियमित हवन, पाँच हजार १०० दिव्य कलश पूजन, चार वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रुपमा सञ्चालन हुने छ ।