सन्ध्या आचार्य
बागलुङ, २० फागुन २०७९ ।
बागलुङको जैमिनी नगरपालिकामा चलिरहेको मेलमिलाप कर्ताको तालिममा व्यवहारिक अभ्यास गराउन थालिएको छ । जैमिनी नगरपालिकाको आयोजना र शान्तिका लागि समग्र विकास संस्थाको समन्वयमा सञ्चालित उक्त तालिममा व्यवहारिक अभ्यास गराउन थालिएको हो ।
तालिममा सहभागीहरुलाई पूर्ण रुपमा व्यहारिक ज्ञान दिन सकेमा उनीहरुले तालिमको उपयोग गर्न सक्ने भएकाले पूर्णतया व्यवहारिक तरिकाबाट सिकाउन थालिएको तालिमकी प्रमुख प्रशिक्षक विद्या खनाल नागिलाले जानकारी दिनुभयो । सहभागीहरुले न्यायिक इजलासमा कानुन सम्बत सरल तरिकाले बहस गर्न सकुन् भनेर तालिममा व्यवहारिक पाटोलाई बढी जोड दिने गरेको उहाँको भनाई छ ।
मेलमिलाप कर्ताहरुले नियम र कानुनलाई आधार मानी कसरी मेलमिलाप गराउन सक्ने र सामाजिक सम्बन्ध कायम कसरी राख्ने भनेर तालिममा सिकाइएको छ । मेलमिलाप कर्ताहरुलाई समाजमा हुने सानातिना घटनाहरुको सहज तरिकाबाट कसरी मेलमिलाप गराउने ? कानुनी पाटाहरु के कस्ता छन् ? न्याय निरुपणका मापदण्ड र आधारहरु के के हुन् लगाएतका विषयमा ज्ञान दिइने छ ।
२३ गतेसम्म सञ्चालन हुने तालिममा शनिबार बिहान जिल्ला अदालत बागलुङका न्यायधिश डाक्टर दिवाकर भट्टले सहजिकरण गर्नुहुने छ । न्यायिक समिति र मेलमिलाप कर्ताले बुझ्नुपर्ने कानुनी क्षेत्रहरु लगाएतको विषयमा उहाँले सहभागीहरुलाई जानकारी गराउनुहुने छ ।