सुजन प्रेमी
बागलुङ, १६ साउन २०७९ ।
बागलुङको जैमिनीमा चालु आर्थिक बर्षबाट पूर्ण रुपमा अनलाइन भुक्तानी प्रणाली सञ्चालन भएको छ । गत आर्थिक बर्षको अन्तिममा सुरु भएको अनलाइन प्रणाली चालु आर्थिक बर्षबाट पूर्ण रुपमा लागु भएको हो ।
गत आर्थिक बर्ष २०७८÷७९ को अन्तिममा केहि योजनाहरुको अनलाइन भुक्तानी गरिएको र चालु आर्थिक बर्षदेखि यसलाई पूर्ण रुपमा लागु गरिने जैमिनी नगरपालिकाका लेखा अधिकृत सुर्य बहादुर विकले जानकारी दिनुभयो । अनलाइन भुक्तानी प्रणाली लागु गरेपछि भुक्तानी लिने सेवाग्राहीहरु चेकको लागि नगरपालिकामा आउन वा कुरेर बस्न जरुरी हुनेछैन । यस अघि नै यो प्रणली लागु भएको भएपनि परिक्षणको रुपमा मात्रै प्रयोग भएको थियो ।
“अनलाइन भुक्तानी प्रणाली लागु गरेपछि सेवाग्राहीहरुको नाममा चेक काटिँदैन” लेखा अधिकृत विकले अर्थकुरा डटकम सँगको कुराकानीमा भन्नुभयो, “के को नाममा भुक्तानी गर्नुपर्ने हो त्यस संस्था वा व्यक्तिको खाता रहेको बैंकको चेकको फोटोकपी राखिदिए सिधै बैंक खातामा नै रकम जान्छ, सेवाग्राही चेक लिने र बैंकमा लगेर जम्मा गर्नुपर्ने झण्झटतिर लाग्नुपर्दैन ।”
भुक्तानी लिन आउने व्यक्ति वा संस्थाको खाताको नाम र खाता नम्बर फरक नपरोस् भनेर चेकको फोटोकपी राख्नुपर्ने लेखा अधिकृत विकले बताउनुभयो । यो प्रणाली लागु भएपछि सेवाग्राहीहरुलाई पनि सहज हुनेछ ।
गत आर्थिक बर्षमा मात्रै ६६ लाख रुपैयाँ भन्दा बढी अनलाइनबाट नै सिधै भुक्तानी भएको सह लेखापाल मोहन कुमार केसीले बताउनुभयो । अब यो प्रणाली चालु आर्थिक बर्ष २०७९÷८० मा पूर्ण रुपमा लागु भएपछि चेक लिनकै लागि सेवाग्राहीहरु नगरपालिकामा बस्नु नपर्ने हुँदा भिडभाड पनि कम हुने छ ।
सेवाग्राहीहरुको सबै कागजातहरु ठिक भएर भुक्तानीको लागि प्रकृयामा गएपछि सिधै सेवाग्राहीको बैंक खातामा नै रकम आउनेछ । सेवाग्राहीको लागि चेक काट्नुपर्ने झण्झट समेत नहुने हुँदा कार्यसम्पादनमा पनि सहजता आउने सह लेखापाल केसीको भनाई छ ।
अनलाइन भुक्तानी प्रणालीमा कामको सहजतासँगै पारदर्शिता समेत रहने भएकाले सरकारी कार्यलयहरुमा यो प्रणाली लागु गर्न थालिएको छ ।
