सुजन प्रेमी
बागलुङ, २१ फागुन २०७८ ।
राष्ट्रिय वाणिज्य बैंक कुश्मिसेरामा २० मिनेटमै सुनकर्जा पाइने भएको छ । बागलुङको जैमिनी नगरपालिका १ कुश्मिसेरामा अवस्थित राष्ट्रिय वाणिज्य बैंक शेरा बजार शाखामा २० मिनेटमा नै सुनकर्जा प्रवाह हुन थालेको हो ।
ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै २० मिनेटमा नै सुन धितो राखेर कर्जा दिन थालिएको राष्ट्रिय वाणिज्य बैंक शेरा बजार शाखाका शाखा प्रवन्धक लोक प्रकाश पौडेलले अर्थकुरा डटकमलाई जानकारी दिनुभयो । कुनैपनि ग्राहकले सुन ल्याएर ऋण माग गरेमा विना सेवाशुल्क कर्जा प्रवाह गरिने उहाँको भनाई छ ।
करिव १ हजार २ सय ग्राहक भएको सो बैंकले ग्राहकलाई तत्काल आवश्यक पर्ने सानो कर्जालाई ध्यानमा राख्दै सुनकर्जा धितो राख्ने व्यवस्था गरेको छ । ग्राहकलाई आवश्यक पर्ने सानो रकममा धितोको प्रक्रिया गर्न झण्झट हुने र समय पनि बढि लाग्ने भएकाले सुन ल्याएर २० मिनेटमा नै कर्जा दिइने शाखा प्रवन्धक पौडेलले बताउनुभयो ।
राष्ट्रिय वाणिज्य बैंक शेरा बजार शाखामा एटिएम बुथको सेवा नभएपनि एटिएम कार्ड भएकाहरुले पिओएस मेसिनबाट रकम निकाल्न सक्नेछन् । यस्तै मोबाइल बैंकिङ सेवा प्रयोग कर्ताहरुले २ लाख रुपैयासम्म चेक विना नै ई—टेलर सेवाबाट क्युआर कोड स्क्यान गरी रकम निकाल्न सकिन्छ ।