बागलुङ, १५ फागुन २०७८ ।
बलेवा एकता वचत तथा ऋण सहकारी संस्था लिमिटेड नारायणस्थान बागलुङले एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम शनिवार सम्पन्न गरेको छ । संस्थाको बागलुङ नगरपालिका वडा नं. १३ पैयुपाटा सेवा केन्द्रका सञ्चालक तथा शेयर सदस्यहरुका लागि सञ्चालित तालिममा सहकारीमा वित्तीय साक्षरताको महत्व लगायतका विषयमा जानकारी गराइएको थियो ।
सहकारी व्यवसायलाई सदस्य केन्द्रीत बनाउदै संस्थामा आवद्ध शेयर सदस्यहरुलाई वित्तीय रुपमा सक्षम बनाउनका लागि तालिम आयोजना गरिएको संस्थाका प्रवन्धक भरत पौडेलले जानकारी दिनुभयो । सहकारीमा वचत गर्नका लागि खर्च कटौती र आम्दानी वृद्धिका लागि गर्न सकिने उपायहरु, आम्दानी कसरी बढाउने र खर्च कसरी घटाउने लगायत वित्तीय साक्षरताको महत्वका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहजीकरण गर्नु भएको थियो ।
सहकारीका सदस्यहरुको जीवनशैली सहज र कम खर्चिलो बनाउनका लागि सहकारीले योजना बनाएर काम गर्नु पर्नेमा जिसीको जोड थियो । तालिममा संस्थाका सञ्चालक, कर्मचारी र शेयर सदस्य गरी ५० जनाको सहभागिता रहेको थियो ।